Tuesday, December 7, 2010

विनिर्माण

सुधीर छेत्री

A man standing at the bus stop
Reading the newspaper is on the fire.
●Tuesday 9.00 AM, Denver Butson

नेपाली टोपी लाएको एउटा मान्छे
डम्बरचौकनेर हुर्हुर जल्दैछ।

त्यसको तेस्रो अनुहार अहिले चियाको फिक्का रङ्ग जस्तो रातो भएको छ।
हातहरु लघुबन्धनीले छेकारो मारेको उज्यालो च्यात्न उजाइन्दैछन्।
रमभेडाको सुपजस्तो रातो स्थिर तरल साँझले त्यसलाई हेरिरहेछ।
बुद्धि भक्भक् उम्लिरहेछ।
आँखाबाट राप खस्दैछ।
टोपीको सिलाइ खुस्किँदैछ।
त्यहाँ छेउमा अरु पनि छन्।
एउटी युवती आगो निभाउन चाहन्छे।
तर उ आफै भइँचालोमा हल्लिरहेछ।
उसका अङ्ग-प्रत्यङ्ग खेतका बाला झैं हल्लदैँछन्।
खुट्टा स्थिर छैन।
सन्तुलनका पाङ्ग्राहरु खुस्केका छन्।सुन्दर केशराशी हावामा वैलेर झर्दैछ।
गुराँस र चाँप मेघदूतबाट निस्केर भाग्दैछन्।
पाइतलाभरि इतिहासका छेस्का बिझेर आहाल रगत छ।
एउटा वृद्ध मान्छे यी सबैलाई बचाउनचाहन्छ।
तर वृद्धलाई जङ्गली कुकुरहरुले घेरेको छ।
खाकी रङ्गका, राता रङ्गका कुकुरहरु
सरिसृप जिब्रा निकालेर अलकत्रमा उफ्रिरहेछन्।
वृद्धका इस्टकोटबाट लोकगीत लत्रिरहेको छ।
चाउरिएका शरीर ट्युनिङ फर्कजस्तो कम्पित छ।
कुकुरका अवैध दाँतहरु वृद्धको एकसयवर्षे आख्यानमा गाडिएको
छ।
वरिपरि अरु पनि छन्।
तर सबैलाई पहिरोले बगाउँदैछ।
कवि पनि बग्दैछ।
दूधझैं फाटेका आवेगहरु छताछुल्ल आन्द्राभुँडी बटुल्दैछ।


रगत रगत
कहाली कहाली
रोयो रोयो।
आगो, भुइँचालो,
जङ्गली कुकुरहरु, पहिरो इत्यादि।

यस्तै कविता मैले
इन्टरनेटमा पढेको हुनुपर्छ।।
हुलिगन्स

सुधीर छेत्री

●खबरमा छ :
नव-फासीवादका गीत सुनिरहेछन्
सेता ब्वाँसाहरुले।

●काला स्यालहरु दगुर्छन्
विस्फोटका चोइटाले बिझाएर।

●मेरो सरकारी नोकरी छैन।
मेरो जमीन, घर, माटो केही छैन।

●छैनहरु नै अब आरडीएक्स भएर पड्किँदैछन्।

●गाउँ-घरका साइँला सिसिपसहरुलाई
ठेल्दैछ खेत उकालो पासुँला र छेपारीका हर्सपावरहरुले।
रमाइला दिनका फुटेजहरु
सम्पादन गरिबस्छ रोमान्टिकहरु।

●एकान्तलाई उसिनिबस्छ।

●कमरेडले खनेर निकाले
पुरानो सङ्ग्रहालयबाट आज,
छात्रामाथि यौन-उत्पीडन गरेको
प्राध्यापकलाई।

●विद्यालयले रङ्ग फेरेर पाकेको छ।

●हुलिगन्स जताततै।।

new posts

सालाहरु

सुधीर क्षेत्री

यो दोबाटोको मूर्ति तोडिदेऊ
साँच्चै इतिहासपुरुष थियो के,
यो मान्छे!

मेरो जलप्लावित शरीरमा
अभागोर्देका
असङ्ख्य च्याउहरु उम्रेका छन्
अनि
यो उर्वर पवित्र क्षणमा
तिमी फुक्न खोज्छौ
शब्दमेघ यज्ञको शङ्ख।

सालाहरु
रुद्रघण्टी बजाएर
पुरानो लैबरी गाइरहेछन्।

ह्विस्कीको रगत बग्ने
तिम्रो अक्टोपस शरीर
र कुच्चिएको रक्तनली।
तिम्रो विद्रोह
रेस्टुराँको टेबलदेखि गल्छेंडीसम्म।
के म तेरो कविता लेखूँ?

तेरो चित्रण गर्दा
शब्दले र पदले
श्लीलताको परिधि नाघ्दैछ,
मेरा मर्यादित शब्दहरु
नपुंसक युवकले
नवविवाहिता दुलहीको
नाइटोभरि स्खलन पोखेझैं
अतृप्ति
र असफलता
पिउन बाध्य छन्।
के लेखिबस्नु
यी पाखण्डीहरुबारे,
सालाहरु।।